• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

पोषण बारे पुर्नताजकिय तालिम सुरु

बाजुरा, बैशाख २१ गते ।

जिल्लाको पोषण अवस्था सुधार ल्याउन आवश्यक ज्ञान सिप बारे जानकारी दिन मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्य कर्मी, पोषण सरोकारवाला र महिला स्वास्थ्य स्वयम सेविकाका लागि तालिम सञ्चालन गरिएको हो ।

स्वास्थ्य विभाग जिल्ला स्वास्थ्य कार्यालयको आयोजना युएस ए आईडी सुआहारा कार्यक्रमको सहयोगमा तालिम सञ्चालन हुनेछ । तीन चरणमा जिल्लाका तीन वटा क्षेत्रमा एकसाथ सञ्चालन हुने तालिममा २९० जना सहभागि हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विकले बताउनु भएको छ ।

राज्यकै प्राथमिकतामा परेको बहुक्षेत्रीय पोषण आयोजना कार्यक्रमलाई सहयोग पुर्याउन जिल्लाको कुपोषण दर घटाई पोषण अवस्थामा सुधार ल्याउन बृहत रुपमा तालिम प्याकेज नै सञ्चालन गरिएको डाक्टर विकको भनाई छ । जिल्लामा १५ प्रतिशत बालबालिका कुपोषणको सिकार बनेका छन् ।

तालिममा २८ वटा स्वास्थ्य संस्थाका २ सय जना स्वास्थ्य कर्मी, ६ जना महिला तथा बालबालिका कार्यालय, २२ जना कृषि प्राविधिक, २१ जना पशु सेवा कार्यालयका प्राविधिक, ११ जना शिक्षा कार्यालय, १० जना जिल्ला समन्वय समिति र १२ जना सुआहारा कार्यालयका कर्मचारी सहभागि हुने जिल्ला स्वास्थ्य कार्यालय सिअहेव रामचन्द्र यादवले बताउनु भएको छ ।

तालिम मार्तडी, कोल्टी र टाँटेमा एकसाथ आजबाट सञ्चालन भएको छ । तालिम टाँटे र मार्तडीमा ४ चरण र कोल्टीमा ३ चरण सञ्चालन हुने सुआहारा जिल्ला कार्यक्रम संयोजक पुष्प रावलले बताउनु भएको छ । जस अन्तर्गत कोल्टीमा ८९ जना, टाँटेमा ९२ जना र मार्तडीमा १०८ जना सहभागि हुने भएका छन् ।

कुपोषण दर घटनाले लक्ष्य सहीत तालिम सञ्चालन गरिएपनि स्थानीय खाद्यन्न बालीको प्रवद्र्धन, प्रयोग तथा खानेबानीको परिर्वतन बारे पनि जानकारी गराईने भएको छ । स्न २०१२ पछि जिल्लामा सञ्चालन भएको यो नै तालिमको ठूलो प्याकेज हो ।

तालिममा पारिवारीक पोषण योजना, आपतकालिन स्वास्थ्य कोष, सामुदायिक स्वाथ्य सेवा, सरसफाई, उत्पादन र आयआर्जन बारे जानकारी गराईने भएको छ । जिल्लाको कुपोषणदर घटाउन स्वास्थ्य कर्मीको मात्र कर्तव्य नभई सबैको साझा समस्या भएकोले सबै लाग्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनु भएको छ ।  

स्थानीय स्तरमा रहेको कुपोषण समस्या समाधान तालिम लिएर मात्र नहुने भएकोले तालिमबाट सिकेको कुरालाई आत्मसाथ गर्नु पर्ने स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनु भएको छ ।

जिल्लामा कुपोषणको अवस्था बारे १३ हजार ७ सय ९९ जनामा गरिएको सर्भेक्षण अनुसार शिघ्र कुपोषण ४.८ प्रतिशत र मध्यम कुपोषण १०.८६ प्रतिशत रहेको छ । सन् २०१३ को सर्भे अनुसार पुड्को पना ५७ प्रतिशत, ख्याउटेपना ९.४ प्रतिशत र कम तोल् भएका ४३.४ प्रतिशत बालबालिका रहेको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिएका छन् ।


Loading...
Radio Bajura
Radio Bajura