• अहिले तरंगमा--नेपाल चाैतारी
    केहि छिनमा-- हालखबर विशेष

ताजा हालखबर

हिंसा पीडितको न्यायका लागि लड्न समूह गठन

बाजुरा, बैशाख २१ गते
लैङ्गिक तथा घरेलु हिंसा पीडितको न्यायका लागि जिल्लामा क्रियाशिल पत्रकारहरुको समुह गठन गरिएको छ । लैङ्गिक तथा घरेलु हिंसाका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपनि पीडितले न्याय नपाएको गुनासो बढ्न थालेपछि सहजिकरण र न्यायमा पहुँचका लागि समूह गठन गरिएको हो ।

समूह नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमा रावल संयोजक रहेको ९ सदस्यीय गठन गरिएको महिला विकास अधिकृत कमला शाहीले बताउनु भएको छ । हिंसा पीडितले प्रहरी प्रशासनमा उजुरी दिएपनि सुनुवाई नहुने, भएपनि आफन्तको दबाब र प्रभावले मितोमतोमा टुङ्ग्याउने समस्या कम गर्न समूहले भूमिका निर्वाह गर्ने शाहीको भनाई छ ।

हिंसा पीडितको अवस्था, प्रकृति र समस्या हेरेर समाचार सम्प्रेषण गर्नु पर्ने र त्यसको संवेदनशिलता र जोखिमको आँकलन गरी न्यायका लागि पैरवी गर्न समूहले काम गर्ने भएको छ । समूह महिला तथा बालबालिका कार्यायको अगुवामा गठन गरिएको हो ।

समूहमा पत्रकार प्रकाश सिंह, कृष्ण ओली, प्रेम विक, प्रेम रौले, नन्दा थापा, कमल कुमारी शाह, लक्ष्मीराज पाध्याय सदस्य रहेका छन् । हिंसा सम्बन्धी घटना बारे समाचार तथा लेख रचना प्रकाशन भएपनि त्यसको सुनुवाई र कानुनी उपचारको पाटो कमजोर भएकोले समूह मार्फत घटना विशेष छलफल तथा बहस पैरवी गरिने भएको छ ।

महिला विकास अधिकृत कमला शाहीले सहजिरकण गर्नु भएको कार्यक्रममा जिल्लामा महिला तथा घरेलु हिंसाको अवस्था बारे समीक्षा गरिएको छ । कार्यक्रममा युएनएफपीएका निलकण्ठ गौतम, जिल्ला कार्यक्रम संयोजक बविन नेपाली महिला विकास कार्यालय गंगा गिरी, पेमा बडु, विन्द्र बडाल लगायतको सहभागिता रहेको थियो ।


Loading...
Radio Bajura
Radio Bajura