• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

के विद्यालय पैंसा असुल्ने अखाडा मात्रै हुन ?

रतन अयडी-

विद्यार्थीलाई उसको रूची, इच्छा, चाहना, क्षमता, मनोभावना र योग्यता अनुसार विद्यालयमा शिक्षण सिकाई क्रियाकलापको निर्णय लिन र सिकाइमा प्रभावकारिता बढाउन मार्गदर्शन आवश्यक हुन्छ । विद्यार्थीलाई उचित मार्ग निर्देशन र सल्लाहले उनीहरूलाई सकारात्मक सोच र सर्वाङ्गिण विकासमा मद्दत पुग्छ ।

संसारका जुनसुकै देशमा पनि विद्यालयहरूमा विद्यार्थीबीच विभिन्न भिन्नता रहेको हुन्छ । विद्यार्थीहरूमा लिङ्ग, वर्ग, भाषा, धर्म, पेशा, शिक्षा, आर्थिक अवस्था, उमेर, भूगोल, शरीरको वर्ण, शारीरिक बनोट आदिका आधारमा भिन्नता हुन्छ । यिनै विविधताका आधारहरूले कैयौं विद्यार्थीहरू आशा गरेभन्दा बढी सिकाई उपलब्धी हासिल गर्छन् भने कयौं विद्यार्थीहरू उद्देश्य अनुरुप सिकाई गर्न सकिरहेका हुँदैनन् । विविधताले कुनै विद्यार्थीलाई पढ्न प्रेरित गर्छ भने अर्को विद्यार्थीलाई पढाइ गर्न भइरहेको हुँदैन । तसर्थ, विविधतालाई घरमा अभिभावक र विद्यालयमा शिक्षकले राम्ररी व्यवस्थापन गरेमा विद्यार्थीले आशातित उपलब्धीहरू सजिलै हासिल गर्न सक्छ । अर्कोतिर विविधताको उचित व्यवस्थापन हुन नसकेमा विद्यार्थी पढाइबाट विमुख हुन्छ । तसर्थ, मैले यस लेखमार्फत् विद्यार्थीलाई मार्ग निर्देशन, सल्लाह र सुझाव आवश्यक छ भन्ने कुरा प्रष्ट्याउन खोजेको छु ।

विद्यार्थीलाई उसको अन्तरनिहीत प्रतिभा प्रष्फूटन गराउन उचित अवसरको आवश्यकता हुन्छ र प्रगति गरिरहेका विद्यार्थीका लागि थप प्रगति गर्न र प्रगति गर्न नसकिरहेका विद्यार्थीका लागि औसत प्रगति गर्न सक्ने बनाउन, उसमा खुसी, सन्तुष्टि र सामाजिकता विकासका लागि पनि परामर्श, सल्लाह अर्थात् मार्गनिर्देशनरूपी सहयोग दिनुपर्छ । उचित पथ प्रदर्शन पाएको विद्यार्थीले आफ्नो भावी जीवनमा सहयोग लिने र दिने गरी व्यवहारमा परिवर्तन ल्याउँछ । विद्यालयमा असामान्य व्यवहार गर्ने विद्यार्थी लगायत सबै विद्यार्थीलाई पथ प्रदर्शन आवश्यक हुने भएकाले शिक्षक सचेत हुन जरूरी छ ।

नेपालका सामुदायिक विद्यालयहरूमा अभिभावक, शिक्षक र विद्यार्थीहरूले आफ्नो काम, कर्तव्य र अधिकार बिर्सेको आभाष हुन्छ भने संस्थागत विद्यालयमा कसरी पैसा असुल्ने भन्ने विषय मात्र प्रमुख बनेको देखिन्छ । यस्तो विषम परिस्थितिमा हामी सबैले विविधताको ख्याल गर्न नसक्दा हाम्रो भविष्यका कर्णधारहरूलाई ट्यापे, मुन्द्रे, लफङ्गा आदि उपमा दिइरहेका छौं । विद्यालयमा फरक व्यवहार देखाइरहेको र विद्यार्थीहरूमाथि घरमा अभिभावक, विद्यालयमा विद्यालय प्रशासक शिक्षकबाट उनीहरूको मनोविज्ञान, जीवन दर्शन, भावना र विचार बारेमा थोरै पनि सम्बोधन भएको देखिन्न । सामुदायिक विद्यालयमा उनीहरू विद्यालय जान छोडिरहेका छन् भने संस्थागत विद्यालयमा कक्षा बंक गरिरहेको पाइन्छ । कति ठूला भनिएका संस्थागत विद्यालयमा उनीहरूलाई बाउन्सर लगाएर विद्यालय कम्पाउण्डबाट बाहिर गरेको दुःखत दृश्य पनि देखिन्छ ।

शिक्षा क्षेत्रमा भन्ने गरिन्छ, कलिलो बाल मष्तिष्क भएका बालबालिकाहरू कच्चा माटोजस्तै हुन् । जसरी माटोको काम गर्ने कुमालेले कच्चा माटोबाट निश्चित आकार दिएर माटोका सुन्दर भाडाहरू निर्माण गरेझैं हामी मानिस, विशेषगरी शिक्षक र अभिभावकले आफ्ना छोराछोरीलाई चाहे अनुसारका दिन सफल हुन्छौं, हाम्रा बालबालिकाको भविष्य सुन्दर बनाउन सक्छौं । घर र विद्यालय दुबै क्षेत्रमा बालबालिकाको आत्मसम्मान पढाउने व्यवहारमा कमी भएको महसुस हुन्छ । घरमा अभिभावक र विद्यालयमा शिक्षकहरूले नानाथरि गालीगलौजसहित विभिन्न प्रकारका हिंसा भइरहेको देखिन्छन् । अभिभावक र शिक्षक आफैंमा विद्यार्थीसँग बालमैत्री व्यवहार प्रदर्शन गर्न हिच्किचाइरहेको देखिन्छन् । कतैकतै बालमैत्री व्यवहारको नाममा विद्यार्थीलाई लगाम बिनाको घोडाजस्तै बनाइएको छ । म सबैलाई अनुरोध गर्छु– बालबालिकाको आत्मसम्मानमा चोट नपु¥याऔं । सके जति उनीहरूको भावना, विचार र व्यवहारलाई सम्मान गरौं, सक्दैनौ भने हिंसा नगरौं, आफ्नो व्यवहारमा सके जति सुधार गरौं ।
सरकारले सुविधाविहीन समूहका लागि छात्रवृत्ति, साक्षरता र वैकल्पिक विद्यालयजस्ता सामान्य कार्यक्रम सञ्चालन गरेर जिम्मेवारी पूरा गरेको दावी गरेका छ । तर, विद्यालयको विविधता अन्तर्गत फरक क्षमता र व्यवहारका विद्यार्थीका लागि विशेष कार्यक्रम सञ्चालन गरेको पाइन्न । त्यसो त नेपालमा शैक्षिक उद्देश्य निर्धारण गर्दा अभिभावक, शिक्षक र विद्यार्थीद्वारा तय गर्ने परिपाटी पाइँदैन । सिद्धान्तको सामान्ययीकरण गर्न नभै औपचारिकता मात्र पूरा गर्ने गरिन्छ । केन्द्रीयता लादिएको शैक्षिक उद्देश्यको पहिचान, छनौट, निर्मांण, निर्धारणजस्ता कार्य पाँचतारे होटलहरूमा गरिन्छ । अनि ती उद्देश्य विद्यार्थीले कसरी आत्मसात गर्छन् र व्यवहारमा परिवर्तन हुन्छ ? कक्षा कोठामा शिक्षकले विद्यार्थीको नाम के हो ? विद्यार्थी विवरण के र कस्तो छ ? कस्तो पृष्ठभूमिको विद्यार्थी हुन् ? उसको आनीबानी कस्तो छ ? भन्ने पढाउने शिक्षकलाई नै थाहा हुँदैन । केही शिक्षकहरू घण्टी बजेको १०–१५ मिनेट ढिलो कक्षामा प्रवेश गर्ने, ५–१० मिनेट समय छँदै कक्षाबाट बाहिरिने आरोप खेपिरहेका छन । केहीले शिक्षकले अधिकांश समयमा कक्षा कोठामा कालो र सेतोपाटी शिक्षक नजिकैबाट व्याख्यान विधिबाट प्रवचन दिने गर्छन् ।

स्थानीय निर्वाचनको घोषणा भएको छ । शिक्षकका पेसागत संंघसंगठनका नेताहरू विभिन्न राजनीतिक दलको खुलारूपमा प्रचारप्रसार गरिरहेको दृश्यहरू पनि अनौठा नै छन् । शिक्षकले शिक्षण पेशाप्रति गौरव गर्नुभन्दा कुनै अमुक दलको सभापति र त्यस दलका चल्ताफूर्ता बलिया नेताको नजिकको मान्छे कसरी बन्ने भन्ने कुरामा लागि परेको छन् । हामी शिक्षकले स्वीकार गर्नैपर्छ– हामीमा रहेको गैरजिम्मेवारीपन, अनुत्तरदायीपन र गैरजवाफदेहितापनले नेपालका लाखौं बालबालिकाको भविष्य बिग्रेको छ । शिक्षकले आफ्नो योग्यता, क्षमतामा खिया लगाइरहेको जस्तो अवस्था छ । शिक्षकहरू विद्यार्थी केन्द्रीत र बालमैत्रीपूर्ण शिक्षण गर्दैनन् भन्ने पनि आरोप छ । निश्चय नै यस्तो क्रियाकलापले विद्यार्थीको सिकाईलाई नराम्रो प्रभाव पारिरहेको होला ।

 

विद्यार्थीको शारीरिक, मानसिक, भौतिक र सामाजिक विकास तथा आवश्यकताबारे राज्य, अभिभावक, शिक्षक सबैले राम्ररी जाने–बुझेको हुनुपर्छ । विद्यार्थीका समस्या नबुझि शिक्षकले पढाएमा त्यो वालुवामा पानी हाले सरह हुन्छ । घर, विद्यालय र कक्षा कोठामा विद्यार्थीले सिक्नेजान्ने, जिज्ञासा राख्ने, प्रश्नउत्तर गर्ने, समालोचनात्मक सिकाई गर्ने अनुकूल वातावरण पाएन भने उ स्वतः असामाजिक, नपढ्ने, ट्यापेमुन्द्रे ,झगडालु र ठूल्ठूलो समस्यामूलक मान्छे बन्ने गर्छ । हुन त म पनि शिक्षक भएकाले यसरी शिक्षककै विषयमा आलोचना गर्न राम्रो कदापि हुन सक्दैन । तर, नेपालका विद्यालयहरूको कटूसत्य र यथार्थलाई ढाकछोप गर्नु पनि भएन भनेर मैले लेखेको हुँ ।

यदि घरमा अभिभावक, विद्यालयमा शिक्षक र विद्यालय प्रशासन विद्यार्थीलाई नजिकबाट चिनेर स–सानादेखि ठूला समस्या, विद्यार्थीहरूको विचार, भावना, विकास र आवश्यकतालाई गहिरो अध्ययन विश्लेषणसहित ती समस्या समाधान गर्न लागीपर्ने हो भने रत्नकार डाकु वाल्मीकी ऋषि सहजै बन्छन्, पटमूर्खको प्रयायवाची बनेको मानिस कालिदास पनि बन्न सक्छन् भने हाम्रा बालबालिकाले हामीले चाहेको सकारात्मक गुणस्तरीय विकास, असल व्यवहार, उन्नति र प्रगति किन गर्न सक्दैनन् ?
हुन त लेख्न र भाषण गर्न जति सजिलो विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन र उनीहरूको शैक्षिक गुणस्तर बढाउन सजिलो छैन । तैपनि हामी शिक्षकले बालबालिकाको अन्तरआत्माको आवाज सुन्यौ र भित्री मर्म बुझ्न सक्यौ भने विविधतासहित फरक व्यवहारको सजिलै व्यवसथापन गर्न सकिन्छ । विद्यालयमा हामी शिक्षक र विद्यालय प्रशासनले विद्याथीलाई उनीहरूको अभिभावक हो भन्ने आभाष गराउनुपर्छ भने घरमा उनीहरूलाई आमाबुवा लगायतका अभिभावक अभिभावक मात्रै होइन, शिक्षक पनि हो भन्ने आदरभाव उत्पन्न गराउनुपर्छ । शिक्षकले आफ्नो अभिभावकत्वमा रहेका विद्यार्थीहरूको छनोट, सिकाइ स्तर, जीवनशैली, व्यवहार, अनुशासन, आत्मविश्वास, हिनताबोधजस्ता कुराको गहिरो अध्ययन गरी आवश्यकता अनुसार विद्यार्थीलाई सहयोग, सान्त्वना, उत्प्रेरणा, धन्यवाद, बधाई, सम्मान र माया दिएर गाइड गर्न सकिन्छ । उनीहरूलाई प्रभावकारी रुपमा सिकाउन सकिन्छ । जीवनका हरेक समस्या सजिलै गर्न सक्ने स्वनिर्भर देवस्वरुप मान्ने बन्ने दिशामा लगाउन सकिन्छ ।

निष्कर्षमा भन्नुपर्दा शिक्षक आफ्नो पेशामा सफल बन्नुपर्छ । सफल शिक्षकले समाजमा सकारात्मक परिवर्तन गर्न सक्छ । उसले आफ्नो ज्ञान, सीप, अभिवृत्ति र धारणाको माध्यमबाट गुणस्तरीय विद्यार्थी निर्माण र उत्पादन गर्न सक्छ । जुन शिक्षक आफू खुसी बन्न सक्छ, आफ्नो पेशाप्रति गौरव महसुस गर्न सक्छ र उसैले समाजमा स्वर्गजस्तो वातावरण र खुसीयाली छाउन मद्दत गर्न सक्छ । सकारात्मक परिवर्तनका लागि शिक्षकले आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन गरी विद्यार्थीमा मनोवैज्ञानिक ढंगबाट आत्मविश्वास जागृत गर्ने, बालबालिकाको अधिकतम हित, सिकाइ, शैक्षिक गुणस्तर उकास्न सधैभरि दत्तचित्त भएर लागेमा हाम्रा विद्यार्थीको शैक्षिक गुणस्तर चाहेजति बृद्धि हुनेछ ।

(लेखक बाजुराको  सेलीफालस्थित श्री रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।)


Loading...
Radio Bajura
Radio Bajura