• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

लाखाैको तरकारी किरा लाग्दा किसान चिन्तित

बाजुरा, जेठ ७ गते ।
आलु लगायत तरकारी खेतीमा किरा लागेपछि गडखेतका किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउली लगाएको तरकारीमा रोग किराले कुहीएर नोक्सानी भएपछि किसानहरु चिन्तित बनेका हुन् ।

सदरमुकाम नजिकको गाउँ, ढुवानी गर्न र विक्री गर्न सजिलो, नगद आम्दानी हुने भनेर आलु लगाएँ, किरा लागेर सखाप हुनेभयो, गडखेतकी पारु रावलले गुनासो गर्नु भएको छ । उहाँले गहुँ खेती छोडेर चार मुरी फल्ले जमिनमा आलु खेती गर्नु भएको छ ।

चार मुरी फल्ने खेतमा आलु र बाँकी जमिनमा काउली लगाएँ, किरा लागेर बीउको मूल्य समेत आउने अवस्था छैन्, छोरा छोरीलाई स्कुल पठाउन मात्र होइन, विहान बेलुका खान खुवाउन समेत समस्या हुने उहाँले गुनासो गर्नु भएको छ ।

गडखेतकै बिन्दा कडायतको पनि समस्या उस्तै छ । कृषि कार्यालयले गाउँमा पाठशाला चलायो, मकै, आलु दोब्बरले उत्पादन भयो, राम्रै हुने आशमा खेती गर्यौ, दशा नै लाग्यो विन्दाले गुनासो गर्नु भएको छ ।

गडखेतका १८ बढी परिवारले लगाएको तरकारी खेतीमा किरा लागेर सखाप पारेको छ । कृषि कार्यालयमै गएर जानकारी गराउँदा पनि कोही नआएको किसानको गुनासो छ ।

काचो गोबरको प्रयोग गर्दा समस्या भएको हुन सक्ने भएकोले सोडा पानी छर्किनु भनेर सुझाव दिए, त्यो पनि गर्यौ, कुनै फरक परेन, समस्या बुझ्ने कोही छैनन्, कति गुनासो गर्नु कठायतले भन्नु भएको छ ।

प्याज धनीया र लसुन बाहेक सबै जसो तरकारीमा रोग किरा लागेको स्थानीय जंग रावलले बताउनु भएको छ । बडिमालिका नगरपालिका–८ गडखेतका स्थानीयले तरकारी खेतीबाटै जीवन निर्वाह गर्ने गरेका छन् । पात रातो हुने, किरा लाग्ने र कुहीने समस्या देखिएको छ ।

तर कृषि विकास कार्यालयले आफूहरुले किसानलाई एकीकृत शत्रुजिप व्यवस्थापन विधि सिकाएको धेरै जसो समस्या समाधान आफै गर्न सक्ने बताएको छ । गाई गोरुको पीसाब संकलन गरी वित्रिन्न वनस्पतीसँग कुहाएर बारीमा छर्केपनि धेरै रोग हट्ने विधी प्रयोग गर्न वरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामकृष्ण श्रेष्ठले सुझाव दिनु भएको छ ।

उहाँले मौसमका कारण समस्या देखिएको, तरपनि कार्यालय सेवा दिन जतिबेला पनि हाजिर भएकोले बेवास्ता गरेको भन्न नहुने बताउनु भएको छ । रोग बारे भने विशषेज्ञले नै जाँच पनि पत्ता लगाउने भएकोले कार्यालयमा प्राविधिक नभएको श्रेष्ठको भनाई छ ।

कृषि विकास कार्यालयमा हालसम्म बाली संरक्षण अधिकृत आएकै छैनन् । दक्ष जनशक्ति अभावले पनि किसानले वर्षेनी रोग किराको सिकार बनेर लाखौको नोक्सानी बेहोर्नु परेको छ । रोग जिल्लाका अन्य क्षेत्रमा पनि देखा परेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura