• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

अवैध रुपमा सञ्चालन हुँदै आएका दुईवटा निजि मेडिकलमा सिलबन्दी

बाजुरा, जेठ १० गते
अवैध रुपमा सञ्चालन हुँदै आएका दुईवटा निजि मेडिकलमा सिलबन्दी लगाईएको छ । औषधी व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले सदरमुकाम मार्तडी भित्रै दर्ता नै नगरी सञ्चालन हुदै आएका दुईवटा निजि मेडिकलमा शिलबन्दी गरेको हो ।

दर्ता नै नगरी शाखा जस्तो राखेर सञ्चालन गरिएका मेडिकलमा सिलबन्दी गरेको अनुगमन टोलीमा सहभागि फार्मेसी अधिकृत प्रविण तिमिल्सेनाले जानकारी दिए । आरसी मेडिकल र खप्तडको नाममा अवैध कारोबार भेटिएपछि १५ दिन भित्र लिखित स्पष्टीकरण सहीत विभागमा हाजिर हुन निर्देशन सहीत शिलबन्दी गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको छेउमै राखिएको आरसी मेडिकलको शाखा र दुनि हाटबजारमा राखिएको खप्तड मेडिकलको शाखा पसलमा सर्वपक्षिय रोहबरमा सिलबन्दी गरिएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्नेसी अधिकृत सुष्मा आचार्यले बताईन् ।

आरसी मेडिकल जिल्ला स्वास्थ्य कार्यालयका सिअहेव रामचन्द्र यादवको नाममा र खप्तड मेडिकल सुरेश विकको नाममा दर्ता छ । तर खप्तड मेडिकलको सिंगो लगानी र व्यवस्थापनको जिम्मेवारी अछाम स्थायी घर भएका अम्मराज जैशीले गरिरहेका छन् ।

विभागले लामो समयपछि जिल्लाका चार वटा निजि मेडिकलमा अनुगमन गरेको हो । विभागले १५ दिन भित्र रामचन्द्र यादव र सुरेश विक वा अम्मराज जैशी दुवैलाई लिखित जवाफ सहीत हाजिर भई अर्को निर्देशन जारी नगरेसम्म मेडिकल सञ्चालन नगर्ने भनेको छ ।
सरकारी सेवाकै कर्मचारीले खुलेआम जिल्ला स्वास्थ्य कार्यालयकै छेउमा अवैध मेडिकल सञ्चालन गर्दा पनि स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय मौन हुनु दुर्भाग्य भएको विभागको टोलीले बताएको छ । एक व्यक्तिले एक स्थानमा मात्र औषधी पसल सञ्चालन गर्न पाउने प्रावधान छ ।

त्यसैमा विभागको अनुमति सहीत फार्मेसी अध्ययन गरेको वा आधिकारीक अनुपमति पाएको बाहेकले मेडिकल सञ्चालन गर्न नपाईने प्रावधान छ । जिल्लाका अधिकांश औषधी पसल अवैध भएको खबरका आधारमा सुष्म अनुगमन थालिएको र जिल्लाका अन्य स्थानका मेडिकलमा पनि अनुगमन गर्ने टोलीले बताएको छ ।

अनुमगनका क्रममा विक्री गर्न नपाउने औषधी मेडिकलमा राखेको, बील सिस्टममा मनोमानी गरिएको, म्याद नाघेका औषधी पनि र्याकमै राखेर विक्री गर्ने गरेको जस्ता अवैध कारोबार भेटीएकोले सच्याउन निर्देशन दिएको छ ।

सरकारले औषधी समायोजन नीति ल्याएको दुईवर्षसम्म पनि मनोमानी मूल्यमा औषधी विक्री गर्ने गरेकोले तत्काल बढी मूल्यको औषधी सम्बन्धीत कम्पनीमा फिर्ता गरेको बील भरपाई सहीत विभागको कार्यालयमा उपस्थिति हुन पनि टोलीले निर्देशन दिएको छ ।

म्याद नाघेको र्याकमा राख्न पाईदैन, बीलमा सुधार ल्याउन पर्छ, लागु औषधीको रेडर्क राख्नु पर्छ, अर्को पटक आउँदा त्यसो नगरिएको र अवैध कारोबार सञ्चालन गरेको पाईएमा सम्बन्धीत स्थलमै कारवाहीका लागि सिफारिस गर्ने टोलीले कडा निर्देशन दिएको छ ।

टोलीमा जिल्ला प्रशासन, आयूवेदीक, प्रहरी कार्यालयका प्रतिनिधि सहीत औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत सुष्मा आचार्य, प्रविण तिमिल्सेना केशव रोकाया सहीत थिए । औषधी मेडिकलहरुले सर्वसाधारणलाई खुलेआम ठगि गर्ने गरेको पछिल्लो समयमा गुनासो बढ्दै गएको छ ।


Loading...
Radio Bajura
Radio Bajura