• अहिले तरंगमा--रेडियो नेपालबाट समाचार
    केहि छिनमा-- व्यापारीक विज्ञापन

टीकापुरको मेयर जितेका तपेन्द्र भन्छन्ः चुनावले थारु-पहाडी समुदायलाई फेरि जोड्यो

कैलालीको टीकापुर नगरपालिकामा नेकपा एमालेको जित धेरैका लागि ‘सरप्राइज’ रह्यो । स्वयम् एमालेलाई पनि यो परिणाम अपेक्षित होइन ।

भदौ ७ को टीकापुर घटनाको केन्द्र समेत रहेको यो नगरपालिकामा या त माओवादी केन्द्र या फोरम लोकतान्त्रिकको पक्षमा मत आउँछ भन्ने धेरैलाई लागेको थियो ।

यो यस कारण पनि स्वाभाविक थियो कि टीकापुर नगरपालिका थारु बाहुल्य क्षेत्र हो । संविधानसभाको दोस्रो चुनावमा फोरम लोकतान्त्रिकले जितेको निर्वाचन क्षेत्रमा पर्ने टीकापुरमा उसले थारु समुदायकै उम्मेदवार उठाएको थियो । सुरुवाती मतगणनामा फोरम लोकतान्त्रिकले अग्रता पनि लियो । बीचमा माओवादी अगाडि आयो ।

तर, नाटकीय रुपमा जित भने एमालेले हात पारेको छ । यो जित धेरैलाई अनपेक्षित भने पनि मेयरमा निर्वाचित तपेन्द्र रावल भने स्वाभाविक नै रहेको बताउँछन् । कतिपय दलहरुले एमालेलाई थारु–मधेसी विरोधी भन्ने आरोप लगाए पनि यथार्थमा त्यो अवस्था नरहेकैले अहिलेको जित सम्भव भएको उनको ठहर छ ।

उनले आफ्नो जितले एमाले थारु विरोधी पार्टी भन्ने भ्रम पनि तोडेको दाबी गरे । ‘एमाले थारु र मधेसी विरोधी हो, तराईमा एमालेको जनआधार छैन भन्ने अफवाहलाई टीकापुरमा मैले पाएको जनमतले गलत साबित गरिदिएको छ’, उनले अनलाइनखबरसँग भने ।

तपेन्द्रको दाबी आफैं ठाउँमा छ । तर, थारु समुदायको भोट बाँडिनु र त्यो क्षेत्रमा बस्दै आएका पहाडी समुदायको अधिकांश भोट एमालेले पाउनु उनको जितको कारण बन्यो । चुनावकै मुखमा टीकापुर घटनामा मृत्यु भएका डेढ वर्षको बालकको परिवार एमालेले प्रवेश गर्यो, यसले पनि उसको पक्षमा केही मत बढाएको आकलन गरिएको छ ।

स्थानीय तह पुनर्संरचना गर्दा साविकको टीकापुरमा नारायणपुर र धनसिंहपुर गाविस जोडिएको थियो । धनसिंहपुर र नारायणपुर परेको वडा नम्बर ७, ८ र ९ मा फोरम लोकतान्त्रिकले राम्रो मत पायो । टीकापुरकै ३, ५ र ६ मा माओवादीले हावी भयो । २ र ४ मा एमालेले वडा जित्यो तर मेयर र उपमेयरमा ठूलो अन्तर रहेन । तर, वडा नम्बर एकमा पाएको मतले नै तपेन्द्रलाई मतमा अगाडि मात्र ल्याएन, मेयर नै बनायो ।

एक नम्बरको थारु भोट बाँडियो । किनकि उम्मेदवार जो भए पनि थारु मुद्दामा कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकको धारणा एउटै थियो । अर्को मत राख्नेहरुको विकल्पमा एमाले मात्र रह्यो र त्यही भोट निर्णायक बनेको देखिन्छ, टीकापुरमा ।

‘चुनावले थारु-पहाडी समुदायलाई जोड्यो’

 

राष्ट्रिय जनता पार्टीले चुनाव बहिष्कार गरे पनि फोरम लोकतान्त्रिक निर्वाचनमा होमियो । यसले कैलाली कञ्चनपुर चुनावमय भयो । टीकापुरका मतदातामा पनि उत्साह नै थियो ।

तर, टीकापुर घटनापछि खलबलिएको थारु र पहाडी समुदायबीचको सद्भाव चुनावले फर्काउला कि नफर्काउला भन्ने शंका छँदै थियो ।

टीकापुर घटनापछि पहाडी र थारु समुदायबीच बढेको तिक्तता र बेमेल पनि स्थानीय चुनावले हटाएको रावलको बुझाइ छ ।

यो चुनावमा टीकापुरमा एमालेसँगै माओवादी र फोरम लोकतान्त्रिकका उम्मेदवार प्रतिस्पर्धामा रहे । तीन वटै पार्टीमा थारुसहित दलित, जनजाति सबै समुदायको सहभागिता रहेको र प्रत्येक पार्टीले सबै समुदायका उम्मेदवार उठाएकोले सद्भाव नरहेको भन्ने कुरा भ्रम मात्र रहेको उनको तर्क छ ।

‘थारु तथा मधेसीको माग पूरा गर्न नचाहने दल’ को आरोप खेप्ने एमालेबाट मेयर बनेका रावल भने यो चुनावले दुई समुदायबीचको अविश्वास र शंकाको खाडल पुरेको तर्क गर्छन् ।

‘टीकापुरमा समुदायबीच सद्भावको अभाव छ भन्ने भ्रम चुनावले स्पष्ट रुपमा चिरे जस्तो लाग्छ’, उनले भने, ‘जनताले कुनै एउटै पार्टीमा अथवा थारुले थारुलाई र पहाडीले पहाडीलाई मात्र भोटिङ गर्नेभन्दा पनि सबै पार्टीमा समावेशिताको कुरा देखियो ।’

हल्का छैन भारी !

चुनाव त सकियो । तर, टीकापुरको पीडा यस्तै छ । मेयर तपेन्द्रले दाबी गरे जस्तौ स्थानीय चुनावले थारु र पहाडी समुदायबीच रहेको भय एक हदसम्म हल पनि गर्यो होला ।

तर, टीकापुर घटनाको पीडा अझै हटेको छैन । यो पीडामा मल्हम लगाउने मात्र होइन, थारु र पहाडी समुदायबीच खलबलिएको सद्भाव कायम गर्ने जिम्मेवारी पनि तपेन्द्रकै काँधमा आएको छ ।

टीकापुर घटना लगतै थारु समुदायका विभिन्न व्यक्तिको भौतिक सम्पत्तिमाथि आक्रमण भयो । घटनामा संलग्न भएको आरोपमा कतिपय मुद्दा खेपिरहेका छन् । क्षतिको विषय सम्बोधन भइसकेपछि दोषी र निर्दोष छुट्याएर न्याय सम्पादन गर्नुपर्ने उनको विचार छ ।

‘टीकापुर घटनामा थारु समुदायका कतिपय निर्दोष मान्छेहरु जेलमा बसिरहेका छन् भनेर यहाँका जनतामा परेको छ, त्यो कुरालाई सत्यतथ्य जाँचबुझ गरेर राज्यले सम्बोधन गर्नुपर्छ,’ उनको सुझाव छ ।

मेयरमा निर्वाचित भएपछि अब रावलमाथि टीकापुर घटनापछि अन्याय र उपेक्षाको अनुभूति गरिरहेका थारु समुदायको भावना सम्बोधन गर्ने दायित्व पनि थपिएको छ । तर, उनी थारु समुदाय राज्यबाट उपेक्षितभन्दा पनि आफ्नो क्षेत्रमा केही पाटोमा समस्या रहेको स्विकार्छन् ।

‘हामीले यहाँ भाषा र संस्कृृतिको संवद्र्धनका साथै आर्थिक तथा सांस्कृतिक विकास र शिक्षामा विशेष ध्यान दियौं भने राज्यले उपेक्षा गरेको भावना थारु समुदायबाट हट्नेछ’, उनले आफू त्यसैमा लाग्ने सुनाए ।


Loading...
Radio Bajura
Radio Bajura