• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

बाम गठबन्धनद्धारा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी


४ मंसिर, बाजुरा । बाम गठबन्धनले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार लगाएको तालाबन्दी पौने घण्टा पछि खुलेर दिनभर कामकाज सुचारु भएको छ । आपसी सहमति र मूख्य निर्वाचन कार्यालयले आफै न्यायीक निर्णय गर्ने बताएपछि ताला खुलेको थियो ।

सबै प्रक्रिया पुरा गरी ५२ वटा मतदान स्थलका कर्मचारी नियुक्ती बुझेर खटिसकेको अवस्थामा एकाएक निर्णय परिवर्तन गरी कर्मचारी फिर्ता बोलाउने निर्णयको विरोध गर्दै कार्यालयमा ताला बन्दी गरिएको हो ।

मतदान स्थल कब्जा गर्ने रणनीतिका साथ आफू अनुकुलका कर्मचारी खटाउन षड्यन्त्र गरिएकोले त्यो हुन नदिन दबाबका लागि ताला बन्दी गरिएको बाम गठबन्धनका नेता हरि रोकायाले बताउनु भएको छ ।

मूख्य निर्वाचन अधिकृतले सम्पादन गरेको काम कारवाही माथि नै प्रश्न गर्नु र अविश्वास पैदा गर्नु देउवा सरकारको चुनाव धाँधली गराएर जित्ने षड्यन्त्र भएको बाम गठबन्धनको निष्कर्ष भन्दै बाम गठबन्धनले बजारमा नारा बाजा समेत गरेका थिए ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएपछि निर्वाचन अधिकारी सुभद्रा शर्मा गौतम सहितका कर्मचारी कार्यालय भित्र पौने घण्टा थुनिएका थिए । यता मतदान अधिकृत छनोटमा आयोगको दबाबको विरोध गर्दै बाम गठबन्धन निकट कर्मचारीहरुले आज विरोध स्वरुप प्रेस विज्ञप्ती निकालेका थिए ।

शुक्रबार यसै विषयलाई नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघ बाजुराले मतदान अधिकृत छनोटमा एकलौटी गरिएको विरोधमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए ।

योग्यता, क्षमता, तह लगायतका मापदण्डलाई आधार बनाएर, शारिरीक अवस्थालाई समेत मध्येनजर गर्दै कर्मचारीलाई खटाईएकोले शंका गर्नु राम्रो नहुने भन्दै मूख्य निर्वाचन अधिकृत पुष्प थपलियाले निर्णय सच्याउन नसकिने बताउँदै आउनु भएको थियो ।

आयोगले परिपत्र पठाएको मूख्य निर्वाचिन अधिकृतले स्वीकार गरेका छन् । प्रक्रिया बुझ्न भनेर पत्र पठाएको र त्यसको जवाफ लेखेर दिने अरु प्रक्रिया सोही बमोजिम हुने बताउनु भएको छ । निर्वाचन आयोग र मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई कुनै दलको नेताले दबाब दिदैमा प्रभावित नहुने थपलियाको भनाई छ ।
 


Loading...
Radio Bajura
Radio Bajura