• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

नसोध्नुहोस् ! घर कहाँ हो?

डिबी खड्का-

म आफ्नो घर र घरवाला प्रसंगबाट धेरै टाढा आइपुगिसकेको थिएँ। फेरि केही दिनअघि मात्रै एकजनाले सम्झाइदिए।

प्रश्नको शैली उत्तरको आशयमा केही फरक नहुने यो ‘घर कहाँ हो नि ?’ भन्ने कुराले कहिले कहीँ मथिंगल हल्लाउँछ। खाशमा केही वर्ष मात्रै भएको छ मैले शिर ठाडो पारेर मान्छेलाई आफ्नो घर भएको भुगोल बताउन थालेको।


    म जहाँ पुग्थें, त्यहाँ म जन्मेको भूगोलका कारण मेरो क्षमतामाथि शंका गरिन्थ्यो। कति ठाउँ लगभग पक्का भएको जागीरबाट हात धोइयो। अन्तका कुरा छाडौं, जानेका र बुझेका हुँ भन्नेको पेशा पत्रकारितामा समेत मलाई भूगोलले लखेट्यो। म रिपोर्टरको जागिर माग्न जाँदा पहिलो आशंका हुन्थ्यो– नेपालीमा लेख्न आउँछ ?


मैले काठमाडौंमा परिचय दिन थालेको पहिलो दिनदेखि झेलेको समस्या हो यो घर कहाँ नि?  प्रायले प्रायः सोध्छन्, ‘घर कहाँ हो नि ?’ फलानो ठाउँमा भनेपछि धेरैले दोस्रो प्रश्न झेल्नुपर्दैन। यो प्रश्नको उत्तरपछि अन्य थप प्रश्न झेल्नुपर्छ हामीले। यदि कर्णाली वा सुदूरपश्चिमको पहाडी जिल्लाको हुनुभयो भने अनिवार्य झेल्ने केही प्रश्न यस्ता छन् ।

तपाईं घर कहाँ ?

बाजुरा (यसको ठाउँमा अछाम, बझाङ, बैतडी मुगु हुम्ला पनि हुनक्छ) ।

कता पो पर्छ त्यो जिल्ला ?

सुदूरपश्चिम (कर्णाली) हो ।

साह्रै टाढा छ है !

टाढै छ, काठमाडौंबाट घर पुग्न दुई दिन लाग्छ। ३० घन्टाको बस यात्रा छ।  

गरिबी छ भोकमरी हुन्छ है!

छ। त्यस्तै छ।

देउडा भाषा बोल्न आउँछ ?

यहाँनेर आइपुग्दा उत्तरको साटो झापड दिउँ जस्तो लाग्छ। किनभने यो देशको विशिष्ट मानव भएजसरी प्रश्नमाथि प्रश्न गरिरहेको मान्छेले सोधिदिन्छ– कता पर्छ बाजुरा (बझाङ, मुगु हुम्ला पनि हुन सक्छ) ? यति सानो देशको भूगोलमा सामान्य जानकारी उसलाई नहुनु हाम्रो कमजोरी हो र? तापनि हामी आफू पिछडिएकै ठाउँको महशुस गरेर बताइदिन्छौं। त्यसपछि ‘टाढा छ है ?’ प्रश्नले कन्सिरी तताउँछ। भन्न मन लाग्छ– कहाँबाट टाढा? मेरो घरबाट मेरो घर नजिकै छ। सहिन्छ र उत्तर दिइन्छ। अर्काे नछुट्ने प्रश्न– गरिबी छ, भोकमरी हुन्छ है? लाई पनि मन अमिलो बनाएर समर्थन जनाउँछौं।  

मेरो भूगोल, मेरो घरसम्मको दूरी, मेरो गरिबी सबथोकलाई लिएर गिज्याएर पुग्दैन त्यसपछि आइपुग्छ भाषा। ‘देउडा भाषा बोल्न आउँछ ?’ यो देशको भाषा र संस्कृतिको विविधताबारे पनि विशिष्ट मानवलाई मै पढाउँछु। देउडा भाषा होइन, त्यहाँ प्रचलित गीत र भाका हो भनेर। तर, यो प्रश्नको उत्तर दिने अवस्थासम्म आइपुग्दा मनोबल आफ्नै दुई खुट्टाका पैतालाको छेउमा लडिरहेको भेटिन्छ। अनि लुरुक्क परिन्छ।

काठमाडौंमा सुरुवाती दिनमा संघर्ष गर्दा मैले धेरैपल्ट धिक्कारें, आफू सुदूरपश्चिमको पहाडी गाउँमा जन्मेकोमा। किनभने म जहाँ पुग्थें, त्यहाँ म जन्मेको भूगोलका कारण मेरो क्षमतामाथि शंका गरिन्थ्यो। कति ठाउँ लगभग पक्का भएको जागीरबाट हात धोइयो। अन्तका कुरा छाडौं, जानेका र बुझेका हुँ भन्नेको पेशा पत्रकारितामा समेत मलाई भूगोलले लखेट्यो। म रिपोर्टरको जागिर माग्न जाँदा पहिलो आशंका हुन्थ्यो– नेपालीमा लेख्न आउँछ ? मानौं म नेपाली होइन जस्तो। सुदूरपश्चिमतिर अर्कै भाषा बोलिने भएकाले यो शंका गरिन्थ्यो। यो देशमा मुल भाषा नेपाली भएका र आफ्नो छुट्टै भाषा भएका हामी मात्रै हौं र? जस्तो लाग्थ्यो।

यसरी फरक भुगोलमा जन्मेकै आधारमा आफूलाई विशिष्ट ठान्नेहरुले खुम्च्याउँदै लगेको मनोबल फुकाउन मैले निकै संघर्ष गरेको छु। अरु धेरैले गरेको हुनुपर्छ।

आफूले जानेको र सहज हुने कुराबाट अभिव्यक्त गर्ने हो आफूलाई। त्यसैले कहिले कहीँ गीत लेख्न मन लाग्यो भने देउडा गीत लेख्छु। तीमध्ये पछिल्लोपल्ट लेखेको ‘हुनेवाली जीवनसाथी’ गैर देउडाप्रेमीलाई पनि जँच्यो।

भिडियो

कलाकार, गीतकार, पत्रकारहरुको जमघटमा मेरै साथीहरु यसमाथि पनि ठट्टा गर्छन् र मलाई गिराउन खोज्छन्– ‘यो देउडा गीतकार हो भन्दै।’ यतिले पुग्दैन– आफूले लय नजानेको र शब्द नबुझेको गीतलाई तोडमोड गरेर गाउन थाल्छन्। कहिलेकाहिँ रिस उठ्दा भनिदिन्छु, अमेरिका जन्मेको भए इंग्लिस गीत लेख्थेँ यार भनेर।

मैले ‘घर कहाँ हो ?’ पछि आउने हेयभावयुक्त यी अनेक प्रश्नको उत्तर दिन अचेल झन्झट लाग्छ। जसलाई मेरो घर कुन ठाउँमा हो ? भन्ने जानेर केही अर्थ छैन, त्यस्तालाई ‘डेरामा बस्छु’ भनेर टक्टकिन्छु। ‘घर कहाँ हो ?’ सोध्नुहोस् । तर त्यसपछि प्रश्न ? कृपया पुग्यो !


Loading...
Radio Bajura
Radio Bajura