• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

धुलोमैलो काम, फोर्ब्सको सूचीमा नाम


धुलोमैलो काम, फोर्ब्सको सूचीमा नाम

२२ चैत, काठमाडौं । कलेजका दिनको के कुरा गर्नु १ जोसले भरिएको मन र मस्तिष्क । लाग्छ मैले चाहे भने संसारै जित्न सक्छु । अझ कक्षामा प्रोफेसरले पनि थपिदिन्छन्, ‘विजेताले अरूको बाटो पछ्याउँदैन । आफ्नो बाटो आफै कोर्छ ।’

अनि त के चाहियो र रु क्यान्टिन होस् वा ट्वाइलेट, बाटो होस् कि कलेज बाहिरको क्याफे थुप्रै योनजा बुनिन्छ । तर, एउटा योजना भत्किन्छ, अर्को बन्छ ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा एमीबीए अध्ययन गर्दा सचित पण्डित, निशान चण्डी श्रेष्ठ र सुवास श्रेष्ठको दैनिकी आम युवाभन्दा कत्ति फरक थिएन ।

एउटै उमेरले नजिकिएका उनीहरू खाजा खाँदा होस् वा बाटामा, पढाइ सकिएपछि के गर्ने भनेर कुरा गर्थे । निशानको परिवार पहिलादेखि नै निर्माण क्षेत्रमा भएकाले केही एक्साभेटर किनेर भाडामा लगाउने योजना बनाए । सुवासले अर्को योजना सुनाए, कतै चल्ने ठाउँमा रेस्टुरेन्ट पो खोल्ने हो कि रु

तर, थुप्रै योजना ‘गफ’ मै सीमित बन्यो । सायद् उनीहरूलाई कुनै एउटा त्यस्तो क्षण चाहिएको थियो, जसले कोरा सपनालाई साँच्चै पछ्याउनयोग्य व्यवसायमा परिणत गरिदियोस् ।

नभन्दै त्यो क्षण पनि आयोः १२ वैशाख २०७२ । संयोग मानौं वा विडम्बना, त्यही विनाशकारी भूकम्पबाट सिङ्गो राष्ट्र थलिएको बेला एउटा दूरदर्शी सपनालाई जन्म दियो । र, त्यही सपनालाई सार्थक बनाउने क्रममा तीन नेपाली युवा फोर्ब्सले निकालेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली।व्यक्तिहरुको सूचीमा परेका छन् ।

सही समयमा सही निर्णय

भूकम्पले सबै आत्तिएका थिए । धेरैको आफ्नै पीडा थियो । कोही पीडामा मल्हम लगाउँदै थिए । राहतका लागि हिँड्ने मनकारीहरुको भीडमा सचिन, निशान र सुवास पनि थिए । उनीहरुले सोचे, सबै भत्किएको छ, निर्माणका लागि केही काम गर्नुपर्छ । तर, गर्ने के त रु

सचिन सुनाउँछन्, त्यो समय ‘सेकेण्ड हृयाण्ड’ ईंटा खोजेर बस्न मिल्ने केही बनाउँ न त भन्दा त्यस्तो ईंटाको समेत १७र१८ रुपैयाँ पर्न आयो । त्यसपछि ईंटा त व्यापक अभाव हुने निश्चित थियो । फेरि ढुंगा र माटोको घर कोही पनि बनाउन चाहँदैनन् जस्तो देखिएको थियो । किनकी सबैको त्यस्तै घर भत्किएका थिए ।

उनीहरु फतक्क गलेर बसेनन्, विकल्प खोजे । इन्टरनेटमा हेरे, त्यहीबाट इन्टरलकिङ ईंटाबारे थाहा पाए । यसबारे अझ रुचि जाग्यो र रिसर्चहरु गरे, यो नेपालमा कत्तिको सम्भव छ रु र, अन्ततः यसलाई व्यावसायिक रुपमा सुरु गर्ने निर्णयमा पुगे ।

सुरुका ती दिन

भूकम्प आएको बेला चौथो सेमेस्टर सकेर बसेका उनीहरुलाई जागिर नखाने सोचले उद्यमी बनाएको हो । तर, वातावरणमैत्री इन्टरलक ईंटा उत्पादन गर्ने ‘इको सेल’ उद्योगको मालिक बन्न उनीहरुले गरेको परिश्रम सानो छैन । परिवारबाट उनीहरुले जसोतसो पाँचरपाँच लाख रुपैयाँ उद्योगका लागि भनेर लिए ।

‘सुरुमा हामीले गर्न सक्ने त अरु केही पनि थिएन । त्यसैले इन्टरनेटबाट नै खोज्यौं । भिडियो, फोटोदेखि लिएर इन्टरनेटमा यसबारे धेरै कुरा पाइयो । राम्रो होला भनेर हामी त्यसमै हाम फाल्न तयार भयौं,’ सुवास भन्छन् ।

सस्तो पर्ने भएर उनीहरुले चीनमा बनेको मेसिन मगाए । तर, त्यही समयमा नाकाबन्दी भयो । त्यसले मेसिन तीन महिना बोर्डरमै अड्कियो ।

त्यतिबेलासम्म उनीहरु भाडामा लिएको जग्गाको पैसा र मेसिनको पैसाले टाट हुने स्थितिमा थिए ।

तीन महिनापछि बल्ल मेसिन आइपुग्यो । माटोको परिक्षण गरे । भनेको जस्तो भएन । इन्टरनेटमा हेरेको आधारमा मात्रै राम्रो ईंटा बनेन । यसैले एक हप्ताको झण्डै ३ लाख खर्च गरेर निशान तालिम लिन भारत गए ।

पहिला कच्चा पदार्थ मिसाउँदा नमिलेको थाहा भयो । त्यो सुध्रियो तर, अर्को गल्ती भयो । आकार नेपालमा चल्ने जस्तो बनेन । मेसिन नै परिवर्तन गर्न सम्भव नभएर त्यसको टाइ परिवर्तन गरे । उनीहरुको कामले लय समात्यो । नेपालमा हुने जस्तो आकारको बन्यो ।

तर, मानिसहरुलाई बुझाउन सहज थिएन । सहरी क्षेत्रमा लक्षित गरेर काम गरेका उनीहरुले एउटै ग्राहक भेटेनन् । उद्यममा धैर्यता र लगनशीलता चाहिने कुरा बुझेका उनीहरुले थप मेहनत गरे । सुवासले एक आफन्तलाई मनाएर इन्टरलक ईंटा हालेर घर बनाउन लगाए ।

त्यो घर बनाएको देख्नेहरु राम्रो मानेर उनीहरुसम्म आइपुगे । यसपछि उनीहरु पछि फर्कनु परेन ।  ‘बनेपामा इन्टरलक हालेर बनाएको पहिलो घर देखिपछि अरुले पनि राम्रो माने,’ सुवास भन्छन् ।

सुवास श्रेष्ठ

जागिर खोज्ने होइन, जागिर दिने

उनीहरुमा सानो लगानीमा केही गरौं भन्ने सोच थियो । एक समय त झण्डै रेष्टुँरा सुरु नै गरिसकेका थिए । त्यसमा पनि रिसर्चहरु गरे । ठाउँ नपाएर त्यो कुरा त्यत्तिकै सेलायो ।

‘बीबीए पढियो । एमबीए पढियो । एमबीएको सुरुको कक्षादेखि नै आफ्नै केही उद्यम गर्नुपर्छ भनेर सिकियो । सरहरुले पढाउने पनि त्यही हो । सबैले भन्ने पनि त्यही हो । तर, एमबीए सकेपछि सबैजना दौडने भनेको बैंकको म्यानेजरको लागि नै हो,’ सचित भन्छन्, ‘हामी इन्टरलक ईंटाकै काम गर्छौं भन्ने त थिएन । बिजनेस गर्छौं भन्ने थियो । यो नगरेको भए चिया पसल खोलेर भए पनि बसेका हुन्थ्यौं होला ।’

निशानको परिवारको पहिलेदेखि नै निर्माणसम्बन्धी व्यापार थियो । डोजरहरु भाडामा लगाउने, प्रिफ्याबको काम गरिरहेका थिए । निर्माणको काममा यसले पनि उनीहरुलाई मद्दत गर्‍यो ।

बैंकको जागिर नगरेर माटोमा खेल्न पुगेका उनीहरुले परिवारको साथ भने पाए । केही गर्लान् भन्ने विश्वास नभए पनि सुरुको लगानी परिवारले जुटाइदियो ।

‘यत्रो पढायो, अफिसमा बसेर कागजमा सही गर्दै पैसा गन्नुपर्नेमा माटोमा चलेको जस्तो देखिएको थियो । त्यो बेला छोरो घुम्ने मेचमा बस्नुपर्नेमा ईंटा बनाउन गयो भन्ने थियो,’ सचित भन्छन् ।

उडाउनेहरु दंग छन्

सुरुका दिनमा उनीहरुको कामलाई धेरैले हावामा उडाए । उ ईंटा व्यापारी आए भनेर गिज्याएको अझै याद छ । साथीहरु पनि ईंटा छापेर पैसा कमाएको छ भनेर व्यङ्ग्य गर्थे ।

तर, अहिले फोर्ब्सको सूचीमा परेकोदेखि झण्डै ६० लाख रुपैयाँको हाराहारीमा बिजनेस पुगेको देख्नेहरु दंग छन् ।

उनीहरुकै ईंटाबाट झण्डै ३७ वटा घर बनिसकेका छन् । उनीहरु एउटा ईंटाको ५० रुपैयाँ लिन्छन् । अब सबै कुराको भाउ बढेकाले ५५ रुपैयाँ पुर्‍याउन लागेको उनीहरुले सुनाए । यसमा पनि उनीहरुलाई भ्याइ नभ्याइ छ ।

पहिले उनीहरु ग्राहक खोज्दै जान्थे । अहिले ग्राहक उनीहरुलाई खोज्दै आउँछन् र एड्भान्स छाडेर जान्छन् ।

उनीहरुले ९ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । ‘सुरुमा ६र७ महिना त बालुवा चाल्नेदेखिको सबै काम आफैं गरियो । बिहान १० बजे पुगेर ४र५ बजेसम्म त्यही हुन्थ्यौं,’ सुवास भन्छन्, ‘के गरी राम्रो होला भनेर प्रयोग गर्दै बसिरहन्थ्यौं । गर्दागर्दै राम्रो प्रोडक्ट निस्कियो र यो स्थितिमा आइयो ।’

नयाँ प्रयोगमा सफलता

इन्टरलक ईंटा माटो, सिमेन्ट र ढुंगाको धुलो मिसाएर बनाउने एक प्रकारको ब्लक हो । ईंटाको बीचमा एकअर्कोमा जोडिने भाग हुन्छ । जुन फिट गर्दा टाइट बस्छ र सबै जोडेपछि माथिको प्वालबाट बालुवा र सिमेन्ट मिश्रित मसलाको घोल हालेर बलियो पारिन्छ । यसको आयु सिमेन्टको जस्तै ५० वर्षभन्दा बढी हुन्छ । भूकम्पपछि ईंटा अभाव हुने र कम समयमा भूकम्प प्रतिरोधि घर बनाउन सकिने ठानेर उनीहरुले यो व्यवसाय सुरु गरेका हुन् ।

नयाँ काम सुरु गरेर ‘रिस्क’ लिएका उनीहरु सफल भएका छन् । उनीहरु आफ्नो काम वातावरणमैत्री भएको बताउँछन् । ‘पहिले ढुंगाको धुलो क्रसरहरुले यत्तिकै राखिरहेका हुन्थे र खोलामा बाढी आएको समयमा बगाउँथे । अहिले त्यही काम नलागेर पानीमा बगाउने धुलोमा हामीले काम देखाएका छौं । अहिले त्यही ढुंगाको धुलोलाई अरुले पनि प्रयोग गर्न थालेका छन्,’ सचितले सुनाए ।

सचित पण्डित

सामान्य ईंटा प्रयोग गर्दा र इन्टरलक ईंटा प्रयोग गर्दा पिलरसहितको घरमा २५ प्रतिशत जति र पिलरबिनाको घरमा ५० प्रतिशत लागत कम हुने उनीहरु बताउँछन् ।

यसैले पनि मानिसहरुको आकर्षण बढीरहेको छ । इन्टरलक ईंटा भूकम्प प्रतिरोधी घर बनाउन भूकम्प पीडितलाई बेच्ने मात्र नभएर पुरानो ईंटाको विकल्प बनाउन सकिने सोच उनीहरुको छ ।

‘यसको लागि चाहिने ठूलो उत्पादन हामीले मात्र गर्न सक्दैनौं । यसैले नयाँ उद्यमीहरु खोजिरहेका छौं । उहाँहरुलाई तालिम, मेसिनलगायत सबै मद्दत गरेर हामी अगाडि बढ्न चाहन्छौं । लगानी र फाइदा सबै उहाँहरुको हुने गरी काम गर्ने छौं,’ निशानले भने ।

जनगाल काभ्रेमा रहेको उनीहरुको उद्योगबाट एक दिनमा १५ सयजति ईंटा उत्पादन भइरहेको छ । अहिले झापा, पोखरा, धरान, धादिङ र सिन्धुलीमा फ्रेन्चाइज समेत सुरु गरेका छन् ।

‘घर बनाउँदा काम कठिन पनि हुँदैन । अरु काम गर्ने कामदारलाई यस्तो यस्तो हो भनेर बताइदिएपछि काम राम्ररी नै हुन्छ । छुट्टै केही तालिम लिनुपर्ने हुँदैन । ईंटा प्रयोग गरेर लगाउने गारोभन्दा सजिलो हुन्छ,’ सुवासले भने ।

अहिलेसम्म काम गरिसकेपछि कसैले नराम्रो भयो भनेको उनीहरुलाई याद छैन । बरु एकजनाले बनाएपछि त्यहीँ नजिकैका अरुले पनि अर्डर गरेको उनीहरु सुनाउँछन् ।

जब फोर्ब्सको सूचीमा परे

फोर्ब्सको सूचीमा परेको थाहा पाउँदा निशान अस्ट्रियामा थिए । उनलाई म्यासेज र मेल ओइरो लागेको थियो । सचित र सुवास घरमै थिए । उनीहरुको समय बधाई थाप्दाथाप्दै बित्यो । कम्पनी अझै राम्ररी अघि बढ्ने भो भन्ने पक्का भयो ।

सचितले बिहे गरेको एक महिना भयो । सुबासको बिहे तीन महिनाअघि भएको हो । निशान बिहे गर्नेबारे सोचिरहेका छन् ।

उनीहरु काममा यति डुबेका छन् कि सँगै बसेर यो खुशी साट्ने मौका पाएका छैनन् ।

निशान चण्डी श्रेष्ठ

फोर्ब्सको सूचीमा परेपछि के भयो त रु

सुवास सुनाउँछन्, ‘हामीप्रति मानिसको विश्वास बढ्छ भन्ने लाग्यो । पहिला त त्यति वास्ता हुँदैन थियो । त्यसपछि परिवारले पनि राम्ररी नै काम गरिरहेको रहेछ भनेर बुझे । आफन्तले तिम्रो छोराले राम्रो गरेको छ भनेर भनिदिँदा उहाँहरुलाई खुशी लाग्छ ।’

निशान भन्छन्, ‘बाहिर भएकाले परिवारको प्रतिक्रिया प्रत्यक्ष त पाइनँ । घरमा भाइ थियो । उसले भन्यो होला के हो भनेर । मलाई फोनमा तेरो नाम आएछ त भन्नुभएको थियो । आएको दुई(तीन दिन भयो । अब सबैसँग राम्ररी कुरा हुन्छ होला ।’

साथीको इमेलले थाहा पाए सचितले । उनी भन्छन्, ‘मलाई एउटा साथीले मेल गरेको छु चेक गर है भनेको थियो । इमेल हेर्दा उसको भन्दामाथि फोर्ब्सको मेल रहेछ । सामान्य केही होला ठानेको अर्कै पो रहेछ । त्यो देखेर खुशी लाग्यो । अभिभावकले अहिले चाहीँ ल नाम कमाउन थाल्यो है केटाले भन्नुभएको थियो ।’

फोर्ब्सको सूचीमा परेपछि उनीहरुको आत्मविश्वास बढेको छ । पैसा कमायो भन्ने नभए पनि नाम आयो भन्ने छ । त्यसैले सन्तुष्टि दिएको छ । मिडियामा समाचार आइरहेका छन् । त्यसले उनीहरुको उद्यमलाई फाइदा पुगेको छ ।

यसैले बढाएको छ चुनौती पनि । अब गर्ने काममा राम्ररी लाग्न झक्झकाएको छ । सचित भन्छन्, ‘अब झनै सफल हुनुपर्छ भन्ने लाग्छ । असफल भइयो भने आज बधाई दिनेले भोलि गाली गर्न थाल्छन् ।’

जसलाई फोर्ब्सले छुटायो

वास्तवमा उनीहरु तीन मात्रै होइनन्, चार छन् । फोर्ब्सको प्रभावशाली युवाको सूचीमा पर्न आवेदन दिने १० हजारभन्दा बढी युवामा थिए विवेक अधिकारी पनि ।

विवेक पनि सचित, निशान, सुवाससँगै छन् । मेकानिकल इन्जिनियरिङ सकेर सँगै एमबीए पढेका उनले पहिलो दिनदेखि उस्तै मेहनत गरेका छन् । ‘इको सेल’ उद्योगकै साझेदार उनलाई फोर्ब्सको सूचीले कसरी छुटाइदियो उनीहरु पनि अलमलमा छन् ।

‘आवेदन दिँदा कम्पनीमार्फत व्यक्तिगत रुपमा पठाउने हो । तर, उनीहरुले मेल पठाउँदा तीन जनालाई मात्रै पठायो । यसको कारण त हामीलाई पनि थाहा हुँदैन । इको सेलको नाम आयो यसैमा खुशी छौं,’ निशान भन्छन्, ‘कम्पनी हामी चारै जनाको हो । उसको नाम कसरी छुट्यो । अचम्म लागेको छ ।’

थप गर्ने योजना

पहिलो काममा सफल भएका उनीहरु पछि सानो हाउजिङमा लाग्ने सोचमा पनि छन् । ‘हाम्रो बाटो निर्माणकै हो नि त, यसैले त्यहीं रहेर थप गर्न चाहन्छौं,’ निशान भन्छन्, ‘अहिले ५० लाख हाल्छु, एक करोड हाल्छु, पाटर्नर बनाउन पर्‍यो भनेर पनि मान्छे आएका छन् । तर उनीहरुलाई पार्टनर बनाएर के गर्ने त रु यसैले हामीले तपाईं अर्को खोल्नुस् हामी सहयोग गर्छौं भन्ने गरेका छौं ।’

यो ईंटा चलनचल्तीमा थिएन । अहिले फैलिँदै छ । तर सरकारले यसलाई के हो भन्ने नै निर्क्यौल नगर्दा भने उनीहरु चिन्तित छन् । यसमा अनुसन्धान गरेर हुन्छ या हुँदैन भनिदिए सजिलो हुने उनीहरुको भनाइ छ ।

‘कि हामीलाई नै रिपोर्ट बुझाउन भने पनि हामी गर्थ्यौं । कतिपय ठाउँमा काम भइसकेपछि इन्जिनियरले स्वीकृति दिँदैनन्,’ निशान भन्छन्, ‘भूकम्प पीडितले किस्तामा पाउने रकममा पनि समस्या भएको छ । काममा बाधा हुने गरेको छ । सरकारी निकायबीच नै समन्वय भएको पाइँदैन ।’


Loading...
Radio Bajura
Radio Bajura