• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

च्याम्पियन्स लिगः रोमाविरुद्ध लिभरपुल ५–२ ले विजयी

१२ वैशाख, काठमाडौं - युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो ।

यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि बार्सिलोनालाई क्वाटरफाइनलबाटै घर फर्काएको रोमा भने दोस्रो लेगको खेल खेल्नुअघि दबावमा परेको छ ।

लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई–दुई गोल गरे । साडियो मानेले एक गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले एक–एक गोल गरेका थिए ।

सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सलाहको भूमिका महत्वपूर्ण छ ।

दुई दिनअघि मात्रै पीएफए वर्ष खेलाडी अवार्ड जितेका स‍लाहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग पनि गरे ।

३५ र ४५ औं मिनेटमा गोल गरेका सलाहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा पुर्‍याएका थिए ।

यो सिजनको सुरुमा रोमाबाट आएका सलाहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् ।

खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे ।
 


Loading...
Radio Bajura
Radio Bajura