• अहिले तरंगमा--बिबिसी नेपाली सेवा (बिहानी पख)
    केहि छिनमा-- साझा सरोकार

ताजा हालखबर

बडिमालिकाले नीति तथा कार्यक्रम सार्वजनिक, ३८ करोड २६ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव

बाजुरा- बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । खुसी नगरबासी, समृद्ध  नगर भन्ने नारा सहीत तेस्रो नगर सभाबाट ३८ करोड २६ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव सहीतको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कृषि, शिक्षा, उत्पादन र भौतिक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर  केन्द्रीय सरकारबाट अनुदान, प्रदेश सरकारबाट अनुदान, आन्तरिक श्रोत र गैरसरकारी संस्थाको बजेट सहीत समेटेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

नगर सभामा उपप्रमुख कविता विष्टले नीति तथा कार्यक्रम पढेर सार्वजनिक गरेकी हुन् । जनप्रतिनिधीको उत्साह र विकास प्रतीको दृढ समर्पणले पहिलो वर्ष विभिन्न पूर्वाधार विकास निर्माणको बलियो आधार तयार भएकोले खुसी नगरवासी समृद्ध नगर भन्ने नारालाई कार्यक्रम मार्फत समेटन खोजिएको छ ।

सडकको पहुँच पुग्न बाँकी नगरपालिका क्षेत्र भित्रका ५ र ६ नम्बर वडामा यसै वर्षभित्र बाटो पुर्याउने नीति नगरपालिकाले लिएको छ । बडीमालिका चक्रपथ निर्माण, मार्तडी बजारको व्यवस्थान गरिने र मार्तडी बजारका गौडाडिलदेखी खुला मञ्चसम्म र वन कार्यालयदेखी स्वास्थ्य कार्यालय गेटसम्म सडक निर्माण कार्य यसै वर्षभित्र सक्ने लक्ष्य लिएको छ ।

उत्पादनमा पहिलो प्राथमिकता

     

नगरपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत पकेट क्षेत्र निर्धारण गरी व्यवसायीक खेती प्रणालीको विकास गर्ने उल्लेख गरेको छ । “किसानको मुहारमा मुस्कान आधुनिकीकरण र प्रविधिकरणको अभियान“लाई प्रभावकारी बनाउन कृषकसंग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

माछा, मासु, दुग्धजन्य उत्पादन र कृषिमा आत्मनिर्भर नगरपालिका बनाउने अभियान अन्तरगत हल्दी खुर्सानी नगर बाहिरको नखानी कार्यक्रम सञ्चालन गर्ने, वीपी जीवन स्तर सुधार कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने र पशुपालन तथा खेतीपातीमा संलग्न युवालाई सहुलिय ऋण दिने नीति लिएको छ ।

बाँझो जमिन राख्नेलाई थप मालपोत शुल्क लगाउने, तरुणलाई कृषिजन्य एवं पशुजन्य व्यवसायका लागि तरुण विउपूँजीकोष निर्माण गर्ने, नमुना कृषकलाई पोत्साहन र पुरस्कार दिने, गोठालालाई किटबक्स सहित भैसी पालन व्यवसायलाई प्रवर्नद्धन गर्न पशु विमा गर्ने र पाडा हुर्काउने पशुपालक कृषक र भैसीलाई सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

     

तीन वटा वडा भाग पर्ने गरि कृषि र पशु सेवा तर्फको प्राविधिक राख्ने, एक वडा एक बहुउदेश्यीय नर्सरी अभियान सञ्चालन गर्ने बताएको छ । नगरपालिकालाई लगानीको उचित गन्तव्य बनाउन कर छुट, दर्तामा सहुलियत शुल्कको व्यवस्था गर्ने र नगरक्षेत्रका तिपाडा, जडाङ्गा, भौनेरा र चुथीलाइ भगीनी बजारका रुपमा विकसित गरी प्रत्येक वडालाई बजार क्षेत्रका रुपमा विकास गर्ने र तरुणलाई सीपमूलक तालिम आयोगका तयारी कक्षा, सीप परिक्षण गर्ने बताईएको छ ।

हाट बजारलाई व्यवस्थित गर्ने र परम्परागत सीप र व्यवसायलाइ संरक्षण गर्न व्यवसायिक आरन, छालाजन्य उत्पादनमा लगानी गर्ने बताएको छ । सिँचाई सुविधा पुर्याउन बिशेष लगानी गर्ने र आकाशे पानीलाई समेत सञ्चित गरी खेती गर्ने प्रणालीको विकास गर्ने बताएको छ ।

बडिमालिकामा केबलकार

नगरपालिकाले “समृद्धिका लागि गन्तव्य बडिमालिका“ अभियान अन्तरगत बुढाकोर्ध मालिका केवलकार र खेतीपातल दुनलेक केवलकारको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने महत्वकांक्षि योजना अघि सारेको छ ।

यस्तै अद्भुत कालाजग्रा, आहा जाल्पादेवी, गणेश गुफा, पोरखे लेक, विरेखोला झरना जस्ता आन्तरिक पर्यटकिय प्याकेजको निर्माण गर्ने र थुवाकाँध, चौराटा र घागर क्षेत्र जोड्न बहुप्रतिक्षित त्रीकोण झोलुङ्गे पुल निर्माण सुरु गर्ने, रजालीलाई कृषि पर्यटन क्षेत्रका रुपमा विकास गर्ने र २ वटा बस्तीलाई होम स्टे निर्माण गरी पर्यटन विकासमा जोड दिने बताएको छ । यस्तै प्रत्येक परिवारलाई सहकारी र बैंकसँग जोड्ने, वित्तिय क्षेत्रलाई कृषिमा लगानी गर्ने वातावरण निर्माण गर्ने बताएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षण    

नगर क्षेत्रमा रहेका ५ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षण सिकाई सुरु गर्ने बताएको छ । आगामी आर्थिक वर्षदेखि लागु हुने गरी कक्षा १ बाट लागुहुने गरी पहिलो चरणमा विद्यालयमा अंग्रेजी माध्यमको शिक्षण सिकाई सुरु गर्ने र पूर्वाधारयुक्त विद्यालय, व्यवहारिक सीप विकास र शिक्षा गुणस्तरिय कार्यक्रम सञ्चालन गर्ने बताईएके छ ।

विद्यालयमा इन्टरनेट सुविधा र इबडिमालिका नीतिलाई प्राथमिकता दिने, नगर स्तरिय शैक्षिक क्यालेण्डर अनुसार शैक्षिक गतिवधी संचालन गर्ने, “आफु जहाँ आफ्ना तहाँ“ कार्यक्रम अन्तर्गत जनप्रतिनिधी, सरकारी तथा गैससमा कार्यरत कर्मचारीहरुका बालबालिकाहरुलाई सरकारी विद्यालयमा पढाउने व्यक्तिलाई विशेष प्याकेज मार्फत सम्मानित गर्ने नीति लिएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा पढेर बाजुरा क्याम्पसबाट स्नातक गर्ने विद्यार्थीलाई कम्तिमा ६ महिने नगर स्वयमसेवकका रुपमा खटाइने र प्राविधिक शिक्षालयको स्थापना गर्न प्रदेश तथा संघीय सरकारसंग पहल गर्ने बताएको छ ।

बडिमालिका उपचार सहायता कोष सञ्चालन

     

गरिब तथा विपन्न समुदायलाई सहज र सुलभ उपचार सेवामा पहुँच पुर्याउन नगरपालिकाले बडिमालिका उपचार सहायता कोष स्थापना गर्ने भएको छ । “घरघरमा अर्गानिक तरकारी ः रोग व्याधी डाँडापारी अनुसार गतिविधि सञ्चालन गर्ने, १ नम्बर वडामा स्वास्थ्य चौकी स्थापना गर्ने र महिला स्वयंसेविका लागि विशेष कार्यक्रम संचालन गर्ने बताएको छ ।

रगत दिए सकिदैन रगत लिउँ रगत दिउँ अभियान संचालन गरी ब्लड बैङ्कलाइ व्यवस्थित गरिने, स्वास्थ विमा कार्यक्रमलाई संस्थागत गर्ने र     टोल टोलमा स्टेचर र नगर स्तरिय एम्बुलेन्सको सञ्चालन गर्ने तयारी नगरपालिकाले गरेको छ ।

एक घर एक धारा निर्माण

नगरपालिकाले एक घर एक धारा अभियान सञ्चालन गर्ने भएको छ । खानेपानीमा सहज पहुँच पुर्याउन र पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी बनाउन ७ र ९ नम्बर वडाबाट कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।

प्लास्टिक र शिसाजन्य फोहरलाई निरुत्साहित गर्ने र परम्परागत धारा, कुवा, इनारहरुको संरक्षण गर्दै सफा पानी स्वस्थ जीन्दगानी अभियान संचालन गर्ने, नगरपालिका क्षेत्र भित्र ३ वटा स्थानमा सार्वजनिक धारा निर्माण गर्ने र बस पार्क क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

घर जग्गा नक्सा पासलाई मार्तडी सहीत अन्य वडामा पनि विस्तार गर्ने र फोहरमैला व्यवस्थापन बापत वडा नम्बर ८ र ९ को बजारक्षेत्रका प्रत्येक घरधुरी, संघसंस्था, कार्यालय, व्यापारिक पसललाई सरसफाई कर शुल्क लगाइने बताएको छ ।

स्थानीय पर्वलाई दस्तावेजिकरण गर्ने

देउडा गीत, गौरा अनन्तेका मागल, भार्ता, असारे गीत, भुवाका मागल लगायतका नगरका मौलिक सम्पदा संरक्षणका लागि भिडियो डकुमेन्ट्री बनाई संरक्षित र स्थानीय चाडपर्वलाई समयानुकुल विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । पञ्चेवाजा समुह गठन गरी संस्कृती जगेर्ना गरिने र बौद्ध संस्कृतीको जगेर्ना गर्न हाम्रा बुद्ध ः चित्त शुद्ध कार्यक्रम संचालन गर्ने बताएको छ ।

नगरमा खेल मैदान

नगर स्तरिय खेल मैदानको सम्भाव्यता अध्ययन गरी बडीमालिका खेलकुद मैदान निर्माण गर्ने र बहउद्देश्यीय कर्वडहललाई सुविधासम्पन्न बनाउन समन्वय तथा सहकार्य गर्ने नीति लिएको छ ।

महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन

     

अघिल्लो वर्ष जस्तै यो वर्षपनि महिलासँग उपप्रमुख कार्यक्रमले निरन्तरता पाउने भएको छ । सामाजिक विभेद, लैगिक हिंसा, छाउ कुप्रथा, बाल विवाह जस्ता कुरीतीको अन्त्यका लागि महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बालविवाह न्यूनिकरणका लागी ब्या बरु छाँटै हरी ः म क्यान मरु अभियान संचालन गर्ने, अपाङ्गता र एकल महिलालाई स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्ने र मदिरा तथा सुर्तिजन्य पदार्थको विक्री वितरणलाई व्यवस्थित गर्ने नीति लिएको छ ।

सडक छेउछाउमा वृक्षारोपण

क्लिन एण्ड ग्रीन बडीमालिका अभियान अन्तरगत हरित सडकपेटी, अमिस्रो, बाँस, निगालो रोपण अभियान सहित बृक्षारोपण गरी सामुदायिक वन, सामुदायिक भवन संरक्षणमा ध्यान दिने, एक घर दुई फलफूलका रुख अनिवार्य गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

हाइटेक नर्सरी स्थापना गरी एक वडा एक बगैँचा कार्यक्रम संचालन गर्ने, खारगाड पारीको बनलाइ नीजि वनका रुपमा विकास गरी उखाडीका हलीयाहरुलाई बाख्रा पालन व्यवसायमा आवद्ध गराउने बताईएको छ ।

यसैगरी ज्यानको सुरक्षा धनको रक्षा अभियान मार्फत मदिराजन्य पदार्थ प्रयोग न्यूनिकरणका कार्यक्रम गरिने, नगर प्रहरीको स्थापना गर्ने र पोरखे लेकमा सुरक्षा पोष्ट राखि सुरक्षा व्यवस्थापन गर्न प्रदेश सरकार र संघीय सरकारसंग आवश्यक पहल गगर्ने बताईएको छ ।

१ लाखको पत्रकारिता अक्षय कोष

     

नगरपालिकाले १ लाख बराबरको बडीमालिका पत्रकारिता अक्षय कोषको स्थापना गरि वार्षिक २ जनालाई पुरस्कृत गर्ने, नगरवासीसंग ः नगर सरकार कार्यक्रम अन्र्तगत हरेक महिनाको एक दिन रेडियो कार्यक्रम सञ्चालन गर्ने, खुला मञ्च क्षेत्रलाई फ्रि वाईफाइ क्षेत्र निर्माण गर्ने, उत्कृष्ट काम गर्ने नगरपालिकाका कर्मचारी, करदाता, शिक्षक, उपभोक्ता समिति,जनप्रतिनधी, संचारकर्मी, टोल विकास समितिलाई पुरस्कृत गर्ने पद्धतीको विकास गर्ने नीति अघि सारेको छ ।

प्रतिपक्षको मौन समर्थन

     

नगर सभामा प्रतिनिधित्व गर्ने नेकपा समर्थक सदस्यहरुले मौन समर्थन जनाएका छन् । नीति तथा कार्यक्रम राम्रो भएपनि काँग्रेसीकरण गर्न खोजिएको उनीहरुको आरोप छ । विपी जीवन सुधार र तरुण युवा शसक्तिकरण कार्यक्रमलाई नराख्न बडिमालिका नगरपालिका ९ का अध्यक्ष विनोद कुमार विकले आग्रह गरेका छन् ।

     

सभामा वडा अध्यक्ष वीरबहादुर रावल, प्रकाश रावल, कला बडुवाल, सुरेन्द्र नाथ, धर्मराज पाध्याय, रामबहादुर कार्की, कार्यपालिका सदस्य हर्क विक, धनलाल पाध्याय लगायतले सुुझाव राखेका थिए ।


Loading...
Radio Bajura
Radio Bajura